हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व

काठमाडौँ, १८ फागुन – फागुपूर्णिमा अर्थात् होली पर्व आज देशका हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा सर्वसाधारणले एकापसमा रङ र लोला खेल्दै आपसी मेलमिलाप र सद्भाव प्रकट गर्ने परम्परा छ।

वसन्त ऋतुको आगमनसँगै मनाइने यो पर्व प्राचीनकालदेखि चलिआएको मानिन्छ। पछिल्ला वर्षहरूमा सुरक्षाकर्मीको सक्रियतासँगै उपत्यकासहित शहरी क्षेत्रमा होली सभ्य र मर्यादित रूपमा मनाइने क्रम बढेको छ। इच्छा विपरीत रङ दल्ने तथा फोहर पानी छ्याप्ने जस्ता गतिविधि घट्दै गएका छन्।

काठमाडौँको वसन्तपुर क्षेत्रमा आज उपस्थित सर्वसाधारणले रङ्गीचङ्गी वातावरण सिर्जना गर्दै गाडिएको चिर विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगी दाह गर्ने परम्परा छ। फागुन शुक्ल अष्टमीका दिन गाडिएको चिरको पूजा गरेसँगै होली सुरु हुने र पूर्णिमाको राति दाह गरेपछि समापन हुने चलन छ। चिरको खरानी टीका लगाउँदा अनिष्ट टर्ने विश्वास गरिन्छ।

धार्मिक विश्वासअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रह्लादलाई मार्न खोज्दा आगोले नजल्ने वरदान पाएकी होलिका स्वयं भष्म भएकी र प्रह्लाद सुरक्षित रहेको कथासँग यो पर्व जोडिएको छ। त्यसैगरी द्वापरयुगमा श्रीकृष्णलाई मार्न पठाइएकी पुतनाको वधसँग पनि फागुपर्व सम्बन्धित रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

आयुर्वेदविद्हरूका अनुसार प्राकृतिक रङ र अबिरको प्रयोग स्वास्थ्यका दृष्टिले लाभदायक हुने विश्वास छ। चिर दाह गर्दा निस्कने धुवाँले कीटाणु नष्ट गर्ने जनविश्वास पनि रहेको बताइन्छ। परम्पराअनुसार सरकारले फागुपूर्णिमाका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाइन्छ र त्यहाँ सोही दिन सार्वजनिक बिदा दिइन्छ। नेपाल र भारतलगायत अन्य देशमा पनि फरक–फरक नाम र शैलीमा रङको पर्व मनाइने गरिन्छ।

इटालीमा ‘बेलियाकोनोन्स’ नामले सुगन्धित जल छर्केर, चीनमा ‘च्वेज’ नामले नयाँ लुगा लगाई, अमेरिकामा ‘होबो’ नामले हास्यात्मक वेशभूषासहित, श्रीलङ्काइन्डोनेसियामा आगो वा पानीको पूजा गरी यो पर्व मनाइने उल्लेख गरिएको छ। फरक नाम र परम्परामा मनाइए पनि रङको पर्वले आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकतालाई सुदृढ बनाउने साझा सन्देश बोकेको पाइन्छ।

Facebook Comments Box