प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय
काठमाडौँ, १६ फागुन – काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३६ हजार २८० जना विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ ।
महानगरको शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार महानगरभित्रका ८३ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, आया तथा अन्य कर्मचारीलाई उक्त प्रणालीमा समेटिएको हो ।
गत माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयन गर्न निर्देशन दिनुभएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले संयुक्त रूपमा प्रणाली सञ्चालनको काम अघि बढाएका थिए ।
विद्यालयका शिक्षक तथा कर्मचारीलाई डाटा प्रविष्टि, अद्यावधिक र प्रतिवेदन तयारीसम्बन्धी क्षमता विकास तालिम प्रदान गरी विद्यालयकै जनशक्तिमार्फत तथ्याङ्क व्यवस्थापन गरिएको विभागले जनाएको छ ।
महानगरका अनुसार कक्षा १० सम्म अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारी गरी करिब ४५ हजार जनसंख्या रहेको छ । विभागले आगामी चैत १ गतेदेखि विद्यालयलाई उपलब्ध गराइने अनुदान तथा निकासा डिजिटल हाजिरी प्रणालीमा आबद्ध तथ्याङ्कका आधारमा मात्र उपलब्ध गराउने निर्णय गरेको छ । यसका लागि फागुन १३ र १४ गते आयोजित प्रधानाध्यापकहरूको बैठकमा प्रणाली कार्यान्वयनमा ढिलाइ नगर्न निर्देशन दिइएको थियो ।
विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढीकरणका लागि चालु आर्थिक वर्षमा रु ३६ करोड बजेट विनियोजन गरिएको छ । पहिलो चरणमा चार वटा र दोस्रो चरणमा ११ वटा विद्यालयको पूर्वाधार गुरुयोजना तयार भइसकेको छ भने तेस्रो चरणमा २३ वटा विद्यालयको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम भइरहेको छ ।
यसैगरी, विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई लक्षित गरी ११ वटा विद्यालयमा विषय विज्ञ तथा स्रोत शिक्षकबाट विशेष तयारी कक्षाहरू सञ्चालन गरिएको छ । अन्य विद्यालयले माग गरेमा त्यहाँ पनि विशेष कक्षा सञ्चालन गरिने विभागले जनाएको छ ।
महानगरले चैत मसान्तसम्म शिक्षक दरबन्दी मिलान सम्पन्न गरी नयाँ शैक्षिक सत्र २०८३ वैशाखदेखि दरबन्दीअनुसार शिक्षक व्यवस्थापन गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ ।

