निर्वाचन निष्पक्षताका लागि प्रजिअ अर्यालको ‘पाँच पी’ सूत्र
नारायणगढ, १६ फागुन – निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ । राजनीतिक दलहरू प्रचार–प्रसारमा सक्रिय छन् भने मतदाताको चासो पनि बढ्दो छ । यसबीच निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गराउने तयारी तीव्र पारिएको छ ।
निर्वाचन सम्पन्न गराउने जिम्मेवारीमा रहेका कर्मचारी, सुरक्षाकर्मी तथा मतदान अधिकृतहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने गणेश अर्यालले बताउनुभयो । उहाँका अनुसार निर्वाचनको विश्वसनीयता कायम राख्न सबै पक्षले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आवश्यक छ ।
प्रजिअ अर्यालले निर्वाचनमा खटिने कर्मचारीले ‘पाँच पी’ सूत्रलाई अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अङ्ग्रेजी अक्षर ‘पी’ बाट सुरु हुने पाँच आधारभूत मापदण्ड उल्लेख गर्दै पहिलो ‘पी’ पक्चुअलिटी (समयपालन), दोस्रो ‘पी’ प्रोसेस (प्रक्रिया पालना), तेस्रो ‘पी’ पेसन्स (धैर्यता), चौथो ‘पी’ पार्टिसिपेसन (सक्रिय सहभागिता) र पाँचौँ ‘पी’ इम्पार्सियलिटी (निष्पक्षता) कायम गर्नुपर्ने बताउनुभयो ।
यी मापदण्डको पूर्ण पालना गरिए निर्वाचन निष्पक्ष, विश्वसनीय र व्यवस्थित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । साथै, यी मापदण्ड उल्लंघन भए अन्तिम ‘पी’ का रूपमा ‘पेनालाइज’ अर्थात् दण्डको भागीदार हुनुपर्ने चेतावनी पनि दिनुभयो ।
यसअघि पनि प्रजिअ अर्यालले निर्वाचन शब्दलाई ‘नि र बा च न’ को रूपमा व्याख्या गर्दै ‘नि’ निष्पक्षता, ‘र’ रणनीतिक तयारी, ‘बा’ अरूलाई बाधा नगर्ने, ‘च’ चलखेल नगर्ने र ‘न’ नकारात्मकता नफैलाउने सन्देश दिनुभएको थियो । उहाँको उक्त व्याख्यालाई निर्वाचन आयोगले समेत सकारात्मक रूपमा लिएको जनाएको छ ।
हाल नेपालभर निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पठाउने, कर्मचारीलाई अभिमुखीकरण गर्ने तथा सुरक्षा व्यवस्था सुदृढ बनाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ ।

