चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन्
धारापानी गाउँ, १६ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशका अन्य क्षेत्रमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । उम्मेदवारहरू घरदैलो, कोणसभा र र्यालीमा व्यस्त छन् । तर धारापानी गाउँमा भने चुनावको कुनै रन्को छैन ।
शुक्लाफाँटा नगरपालिका–८ अन्तर्गत चुरे फेदीमा रहेको यो बस्तीमा २४ घरधुरी रहे पनि हाल नौ परिवार मात्रै बसोबास गर्दै आएका छन् । रोजगारी र आधारभूत पूर्वाधारको अभावका कारण १५ परिवार भारततर्फ पलायन भइसकेका छन् । स्थानीयका अनुसार यसपटक अहिलेसम्म कुनै पनि उम्मेदवार मत माग्न बस्तीमा पुगेका छैनन् ।
प्राकृतिक रूपमा रमणीय भए पनि विकासका आधारभूत सुविधा नपुगेको यो गाउँ राज्यको नजरबाट ओझेलमा परेको स्थानीयको गुनासो छ । खानेपानी, सडक, बिजुली, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सुविधा अभावमै रहेका छन् ।
स्थानीय बालाराम गौतमका अनुसार गाउँमा भरपर्दो खानेपानीको व्यवस्था नभएकाले वर्षौँदेखि खोलाको पानी पिउन बाध्य छन् । “बर्खामा धमिलो पानी थिग्र्याएर पिउनुपर्छ,” उहाँले भन्नुभयो ।
गाउँसम्म पुग्ने बाटोसमेत भरपर्दो छैन । स्थानीय रायभान ठगुन्नाका अनुसार बर्खा लागेपछि पहिरोका कारण गाउँको सम्पर्क अन्य क्षेत्रसँग टुट्ने गर्छ । आवश्यक खाद्यान्न र सामग्री बर्खाअघि नै जोहो गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । बिजुली विस्तारका लागि केही पोल गाड्ने काम सुरु भए पनि सेवा कहिले पुग्ने भन्ने अनिश्चित छ ।
उर्वर भूमि भए पनि बजार पहुँचको अभावमा उत्पादन खेर जाने गरेको छ । गाउँमा कागती, अमिलो, आँपलगायत फलफूल तथा मौरीपालनबाट प्रशस्त मह उत्पादन हुने गरे पनि यातायात सुविधा नहुँदा बिक्री गर्न समस्या हुने गरेको स्थानीयको भनाइ छ । “पिठ्युँमा बोकेर बजार लैजान सकिँदैन, व्यापारी पनि गाउँसम्म आउँदैनन्,” ठगुन्नाले भन्नुभयो ।
बाढी र वन्यजन्तुको जोखिम पनि उत्तिकै छ । बर्खामा धारापानी खोला उर्लेर बस्तीमै पस्ने गरेको स्थानीय साइमले धामीले बताउनुभयो । बाँदरले बाली नष्ट गर्ने र चितुवाले पशुचौपाया सिकार गर्ने समस्या पनि छ ।
स्वास्थ्य सेवा झन् कमजोर छ । बिरामी पर्दा उपचारका लागि १२ किलोमिटर टाढा पैदल हिँड्नुपर्ने बाध्यता छ । बालबालिकाहरूले चार किलोमिटर टाढाको विद्यालय पुग्न वन र खोला पार गर्नुपर्ने जोखिमपूर्ण यात्रा गर्नुपर्छ । स्थानीय पार्वती धामीले गाउँमै बालविकास केन्द्र स्थापना गरिदिन माग गर्नुभयो ।
स्थानीयका अनुसार विगतका निर्वाचनमा केही उम्मेदवार मत माग्न पुगे पनि यसपटक भने कोही नआउँदा उनीहरू निराश छन् । गाउँका बासिन्दाले यसपटक आधारभूत समस्या समाधान गर्ने उम्मेदवारलाई मात्रै समर्थन गर्ने निर्णय गरेका छन् । “बाटो, बिजुली, पानी, स्वास्थ्य र जग्गाधनी प्रमाणपत्र दिलाउने उम्मेदवारलाई मात्र मत दिन्छौँ,” स्थानीयले बताए ।
प्राकृतिक रूपमा सम्पन्न भए पनि विकासबाट टाढा रहेको यो बस्ती अझै राज्यको ध्यानको प्रतीक्षामा छ । आगामी निर्वाचनले धारापानीको अवस्था परिवर्तन गर्छ कि फेरि आश्वासनमै सीमित हुन्छ भन्ने प्रश्न स्थानीयवासीका लागि अझै अनुत्तरित नै छ ।

