कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु, सङ्ख्यामा सुधारको संकेत

कञ्चनपुर, १५ फागुन – नेपाल पन्छी संरक्षण सङ्घ ले कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गिद्धका गुँडको दोस्रो चरणको अनुगमन सुरु गरेको छ।

गिद्धको अवस्था तथा गुँडको स्थितिबारे जानकारी लिन निकुञ्जको तारापुर, हिरापुर तथा बाहिरी क्षेत्र लालझाडीलगायतका स्थानमा टोली परिचालन गरिएको सङ्घका वरिष्ठ चराविज्ञ हिरुलाल डगौरा ले जानकारी दिनुभयो। हालसम्म अनुगमन गरिएका क्षेत्रमा गिद्धका गुँड सन्तोषजनक अवस्थामा रहेको पाइएको उहाँले बताउनुभयो।

यसअघि गत जनवरीमा गरिएको पहिलो चरणको अनुगमनमा सुदूरपश्चिम क्षेत्रमा १२० वटा गुँड अभिलेख गरिएको थियो। दोस्रो चरणको अनुगमनमा गुँडको सङ्ख्या बढेको पाइएको छ भने गिद्धको सङ्ख्या पनि विगतको तुलनामा क्रमशः वृद्धि हुँदै गएको जनाइएको छ।

कञ्चनपुर क्षेत्रमा डङगर गिद्ध, सानो खैरो गिद्ध, राज गिद्ध, सुन गिद्ध तथा हिमाली गिद्धलगायत प्रजाति पाइन्छन्। तीमध्ये सानो खैरो गिद्ध अत्यन्त सङ्कटापन्न अवस्थामा रहेको छ भने अन्य केही प्रजाति पनि जोखिममा रहेका छन्।

गिद्ध संरक्षणका लागि बासस्थान सुधार, गुँड बनाउने रुख संरक्षण तथा जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै गिद्धका लागि हानिकारक मानिएको डाइक्लोफेनाक औषधिको प्रयोग नियन्त्रण र पशु औषधि पसलको अनुगमनले पनि सकारात्मक प्रभाव पारेको जनाइएको छ।

कञ्चनपुर र कैलालीमा अनुगमन सम्पन्न भएपछि बैतडी र डडेल्धुरामा पनि गुँड अनुगमन गरिने कार्यक्रम रहेको छ। तेस्रो चरणको अनुगमन आगामी मार्च महिनामा गरिने सङ्घले जनाएको छ।

Facebook Comments Box