टिपरको हाइड्रोलिक उठाउँदा करेन्ट लागेर चालकको मृत्यु
सिरहा, १५ फागुन – सिरहाको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने सडकमा टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ घर भई हाल वडा नं २ मा बस्दै आएका करिब ४३ वर्षीय सन्तोष साह रहेका छन्। आज बिहान करिब ९ बजे प्रदेश २–०–००१क ००४५ नम्बरको टिपरको पछिल्लो भाग सफा गर्ने क्रममा हाइड्रोलिक उठाउँदा माथिबाट गएको विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेको थियो।
करेन्ट लागेसँगै टिपरमा आगलागीसमेत भएको थियो। गम्भीर घाइते भएका साहलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पाल का अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो। मृतकको शव परीक्षणका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल, लहान पठाइएको प्रहरीले जनाएको छ।

