झापामा चैते धान रोपाइँ सुरु, क्षेत्रफल घट्ने अनुमान

झापा, १५ फागुन – झापा जिल्ला मा चैते धानको रोपाइँ सुरु भएको छ। कचनकवल गाउँपालिका क्षेत्रबाट रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र झापा ले जनाएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार चैतको दोस्रो सातासम्म जिल्लाभर रोपाइँ सकिने अनुमान गरिएको छ। परम्परागत खेती प्रणालीको तुलनामा मेसिनको प्रयोग बढ्दै गएकाले कतै बीउ तयार भइसकेको र कतै बीउ राख्ने काम भइरहेको उहाँले बताउनुभयो।

जिल्लामा हाल १० वटा धान रोप्ने मेसिन (ट्रान्सप्लान्टर) सञ्चालनमा रहेका छन्। गत वर्ष करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको भए पनि यस वर्ष किसानको आकर्षण मकैखेतीतर्फ बढेकाले १५ देखि २० प्रतिशतसम्म क्षेत्रफल घट्ने अनुमान गरिएको छ। गत वर्ष चैते धानको मूल्य प्रतिमन (४० केजी) रु ७०० मात्र रहेकाले उचित प्रतिफल नपाउँदा किसान वैकल्पिक बालीतर्फ मोडिएको प्रमुख विष्टले बताउनुभयो।

जिल्लामा मुख्यतः ‘हर्दिनाथ–१’ जातको धान लगाइँदै आएको छ। यस वर्ष भने मोरङस्थित आरजु राइस मिलले ‘हर्दिनाथ–६’ जातको धान प्रतिमन रु एक हजारमा खरिद गर्ने पूर्वसहमति गरेपछि किसानको आकर्षण उक्त जाततर्फ पनि बढेको छ। बिक्री सुनिश्चितता र तुलनात्मक रूपमा राम्रो मूल्यका कारण ‘हर्दिनाथ–६’ प्रति चासो बढे पनि अधिकांश किसानले अझै ‘हर्दिनाथ–१’ लाई नै प्राथमिकता दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

यसैबीच, केन्द्रको सहयोगमा जिल्लामा ‘छरुवा धान’ प्रविधिलाई समेत प्रोत्साहन गरिएको छ। उत्पादन राम्रो हुने भए पनि प्राविधिक व्यवस्थापनमा ध्यान नदिँदा झार नियन्त्रणमा समस्या देखिने गरेको बताइएको छ। धानखेतीका लागि आवश्यक रासायिक मलको अभाव भने नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

Facebook Comments Box