कामपाका १० वडाका ५०९ स्थानका प्राचीन नाम पहिचान

काठमाडौँ, १५ फागुन – काठमाडौँ महानगरपालिका ले आफ्नो १० वटा वडाभित्रका ५०९ स्थानका प्राचीन तथा मौलिक नाम पहिचान गरिएको जनाएको छ। महानगरको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्र सँगको सहकार्यमा दुई चरणमा गरेको अध्ययनबाट ४३० मूल नाम र ७९ सहायक नाम यकिन गरिएको विभाग प्रमुख कुमारी राईले जानकारी दिनुभयो।

तेस्रो चरणमा थप आठ वडाका मौलिक तथा प्राचीन नाम अध्ययन गर्ने सम्झौतासमेत गरिएको छ। उक्त चरणअन्तर्गत वडा नं १२, १३, १५, २१, २२, २३, २७ र २८ का बस्ती तथा स्थानको अध्ययन गरिने जनाइएको छ। सम्झौतामा विभाग प्रमुख राई र एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक रिजा जोशीले हस्ताक्षर गर्नुभएको हो।

सम्झौता अवसरमा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नाम केवल सम्बोधनका लागि प्रयोग हुने शब्द मात्र नभई इतिहास, संस्कृति र सभ्यताको परिचायक भएको उल्लेख गर्नुभयो। उहाँले नामसम्बन्धी परिचय पाटी राख्दा दृश्य प्रदूषण नहुने गरी सावधानी अपनाउन पनि सुझाव दिनुभयो। यसअघि पहिलो चरणमा वडा नं ५, ६, ७, १८ र २४ तथा दोस्रो चरणमा वडा नं ८, १७, १९, २० र २५ मा अध्ययन सम्पन्न भएको विभागले जनाएको छ।

अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका टोल, बस्ती, मठमन्दिर, वहाल, धारा, सत्तल र पाटीहरूको अभिलेखीकरण गरी प्राचीन नाम पहिचान गरिएको छ। पहिचान गरिएका नाम स्थानीय समुदाय, संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्सँग पुष्टि गरेर अभिलेखमा समावेश गरिने विभागले जनाएको छ।

Facebook Comments Box