अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो
झापा, १२ पुस – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले वृद्धि भएको छ। मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो पाँच महिनामा रु पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैँची निर्यात भएको छ। यस अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात गरिएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिनुभयो।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा रु तीन अर्ब ४५ करोड ६३ लाख बराबरको अलैँची निर्यात भएको थियो। मूल्य र परिमाण दुवै आधारमा चालु आवमा उल्लेख्य वृद्धि देखिएको उहाँले बताउनुभयो। यद्यपि, चियाको निर्यात भने घटेको छ। कार्यालयका अनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेर रु एक अर्ब ८५ करोड ६२ लाख सात हजारमा सीमित भएको छ।
अघिल्लो आवको सोही अवधिमा रु दुई अर्ब ७० करोड ३९ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो। मेची भन्सार कार्यालयका अनुसार चालु आवमा निर्यात हुने अन्य मुख्य वस्तुहरूमा पनि मिश्रित प्रवृत्ति देखिएको छ। भेनीयर सिटको निर्यात १२९ दशमलव ९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा तथा सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० प्रतिशत तथा मुसुरो दालको निर्यात ४८१ प्रतिशतले वृद्धि भएको छ।
यसैगरी, प्लाइउड ४६ प्रतिशत, अम्रिसो ३५ दशमलव ५० प्रतिशत र फलामे पाताको निर्यात ९७ दशमलव ८० प्रतिशतले घटेको छ। मेची भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो पाँच महिनामा कुल रु १० अर्ब ७१ करोड ५४ लाख १३ हजार बराबरको मालवस्तु निर्यात भएको छ।

