साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ, १३ फागुन – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वारागुङ मुक्तिक्षेत्र–५ साङ्तास्थित मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । गत कात्तिक १० गतेदेखि हिमपातका कारण पूर्ण रूपमा अवरुद्ध सडक सवारी सञ्चालनयोग्य बनाउन हिउँ हटाउने काम थालिएको वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

मुस्ताङ सदरमुकाम जोमसोमबाट उत्तर–पश्चिमतर्फ करिब चार हजार ५०० मिटर उचाइमा अवस्थित साङ्ता गाउँ जिल्लाकै सबैभन्दा पछिल्लो समयमा पत्ता लागेको बस्ती मानिन्छ । यहाँ ३९ जना मतदाता रहेका छन् । साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको छ, जुन जोमसोमबाट करिब ४० किलोमिटर टाढा पर्छ ।

भौगोलिक रूपमा विकट साङ्ता गाउँका अधिकांश बासिन्दा जाडो छल्न मङ्सिरअघि नै गाउँ छोडेर जोमसोम आसपास तथा पोखरा–काठमाडौँतर्फ गएका छन् । गाउँमा केही पशुचौपाया हेर्ने गोठाला बाहेक अधिकांश घरमा ताल्चा लगाइएको छ । साङ्तामा १३ घरधुरी मात्र रहेका छन् ।

निर्वाचनमा मतदान गर्न भने स्थानीयवासी फागुन २१ अगावै गाउँ फर्कनुपर्ने अवस्था छ । केही दिनअघि जिल्ला सुरक्षा समितिको टोली मतदान केन्द्रको अनुगमनका लागि गएको भए पनि सडकमा बाक्लो हिउँका कारण आधा बाटोबाटै फर्किनुपरेको थियो । अधिकांश मतदान केन्द्रको स्थलगत अनुगमन सम्पन्न भए पनि साङ्ता गाउँस्थित मतदान केन्द्रमा भने हिमपातका कारण अनुगमन हुन सकेको छैन ।

Facebook Comments Box