मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग
तनहुँ, १३ फागुन – हरेक निर्वाचनमा चुनावी एजेण्डा बन्ने दुलेगौँडा–हर्कपुर मोटरमार्ग यसपटक पनि मतदाताको मुख्य प्राथमिकतामा परेको छ । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्मका उम्मेदवारले सडक स्तरोन्नतिको वाचा गरे पनि वर्षौँदेखि सडकको अवस्था उस्तै रहेको भन्दै स्थानीयवासी असन्तुष्ट छन् ।
वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण सवारी आवागमन प्रभावित हुने गरेको छ । शुक्लागण्डकी नगरपालिका–३ कालिम¥याङका दलबहादुर थापाले चुनावका बेला जनतालाई आश्वासन बाँड्ने नेताहरू विजयी भएपछि बेवास्ता गर्ने गरेको गुनासो गर्नुभयो । उहाँका अनुसार सडकको दयनीय अवस्थाले स्थानीयले सास्ती खेप्दै आएका छन् ।
त्यस्तै शुक्लागण्डकी नगरपालिका–६ ब्यागनकी विष्णुमाया परियारले पनि सडक चुनावी भाषणको विषय मात्र बनेको टिप्पणी गर्नुभयो । “हामीले दुःख भोगिरहेका छौँ, तर नेताहरूले यो बाटोलाई चुनावी मसला बनाएका छन्,” उहाँले भन्नुभयो ।
म्याग्दे गाउँपालिका–६ हर्कपुरसम्म जोडिने उक्त सडकअन्तर्गत शुक्लागण्डकी–३ वन्केवाको टारदेखि हर्कपुर खण्ड कालोपत्रेका लागि सात वर्षअघि ठेक्का सम्झौता भएको थियो । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ योजनाअन्तर्गत विसं २०७६ कात्तिक ४ गते शङ्करमाली निर्माण सेवा प्रालिले १०.१८ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको थियो । विसं २०७८ माघ १६ गतेभित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म चार पटक म्याद थप भइसकेको छ ।
आगामी चैतसम्म थपिएको म्याद रहे पनि निर्माण प्रगति ५० प्रतिशतभन्दा कम रहेको जनाइएको छ । शुक्लागण्डकी, म्याग्दे हुँदै व्यास नगरपालिकासँग जोडिने २३ किलोमिटर दूरीको यस सडकको पहिलो चरणमा १० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य थियो । दुलेगौँडा–हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर श्रेष्ठले जिल्लाकै पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीयवासी र यात्रुले वर्षौँदेखि धुलो र हिलोको समस्या झेल्दै आएको बताउनुभयो ।

