निर्वाचनका लागि कञ्चनपुरका भारतसँग जोडिएका सबै सीमा नाका बन्द गरिने

कञ्चनपुर, १३ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन् । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहनेछन् ।

त्यसैगरी फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म एम्बुलेन्स, ट्राफिक, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल सेवा, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवाका सवारी तथा नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन र अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाइने जनाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ ।

Facebook Comments Box