मटिहानी नगरभित्रको सडक कालोपत्र तीव्र गतिमा, स्थानीयवासी उत्साहित
महोत्तरी, १९ असार – मटिहानी नगरपालिका–४ र ५ अन्तर्गत मझौरा, बिसनपुर र गोबरौरा बस्तीमा सडक कालोपत्र कार्य तीव्र गतिमा अघि बढिरहेको छ। लामो समयसम्म विकासको पहुँचबाट वञ्चित रहँदै आएका स्थानीय बासिन्दाहरूले अहिले सडक निर्माणले नयाँ आशा र उत्साह बोकेको अनुभव गरिरहेका छन्।
मटिहानी–४ का चन्देश्वर रजकले कालोपत्र हुँदै गरेको सडक देखाउँदै हर्ष व्यक्त गर्दै भन्नुभयो, “हाम्रो गाउँको स्वरूप नै बदलिँदैछ।” बिसनपुरका इशाक कवारीले पनि वर्षौंको प्रतीक्षा पूरा भएको उल्लेख गर्दै “सबैको दिन फर्किने रहेछ” भन्नुभयो।
गोबरौराका शिव साहले कालोपत्र सडकले कृषि उत्पादन बजारसम्म लैजान सजिलो हुने, व्यापार बढ्ने र दैनिकीमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो।
सङ्घीय सरकारअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागको सघन सहरी विकास कार्यक्रम अन्तर्गत मझौरा प्रवेशद्वारबाट बिसनपुर हुँदै गोबरौरा जोड्ने करिब ४ किलोमिटर सडकमा कालोपत्र कार्य भइरहेको हो। नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार कालोपत्र सम्पन्न भएपछि करिब १५ हजार जनसङ्ख्या लाभान्वित हुने छन्।
नगर कार्यपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनियर विमलेश साहका अनुसार नगरपालिकालाई उपलब्ध भएको करबाहेकको रु २७ करोड ९९ लाख ७४ हजार ५७७ बजेटमध्ये सो सडक आयोजनामा करिब रु ४ करोड खर्च हुनेछ। अन्य वडाहरूमा पनि सडक विस्तार र कालोपत्रको योजना रहेको उहाँले जानकारी दिनुभयो।
वर्षौँदेखि धुलो, हिलो र अव्यवस्थित सडकका कारण यातायात, व्यापार, स्वास्थ्य सेवा र शिक्षामा समस्या भोगिरहेका स्थानीयवासीका लागि अहिलेको विकासले ठूलो राहत पुर्याएको मटिहानी–४ का वडाध्यक्ष अब्दुर गफार राइनले बताउनुभयो।
नगरप्रमुख मण्डलले कालोपत्र कार्यको नियमित अनुगमन भइरहेको जानकारी दिँदै केही दिनमै काम सम्पन्न हुने आशा व्यक्त गर्नुभयो। नगरका बस्तीहरूमा सडक सञ्जालको विस्तार र स्तरोन्नतिलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उहाँले मटिहानी नगरलाई ‘स्मार्ट सिटी’ बनाउने दीर्घकालीन लक्ष्य रहेको बताउनुभयो।

