बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

धादिङ, ११ फागुन – धादिङमा दुर्घटनाग्रस्त बसभित्र च्यापिएका एक यात्रुलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ग.२ख १४२१ नम्बरको बस दुर्घटनामा परेका ललितपुरको इमाडोल निवासी कृष्णराज मानन्धरलाई बेनीघाट रोराङ गाउँपालिका–५ चराँैदीस्थित भैँसेगौडाबाट पाँच घण्टापछि जीवितै उद्धार गरिएको हो।

बस भिरमा खसेर कच्याक–कुचुक्क अवस्थामा पुगेपछि मानन्धर बसभित्रै च्यापिएका थिए। उद्धार टोलीले बसको पार्टपुर्जा काटेर उहाँलाई सुरक्षित रूपमा बाहिर निकालेको र थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो।

उहाँका अनुसार उद्धार सामग्रीको अभाव र दुर्घटनास्थल अप्ठ्यारो स्थानमा रहेकाले उद्धार कार्यमा ढिलाइ भएको थियो। “घाइते यात्रुले सहयोगका लागि गुहार मागिरहेका थिए, तर तत्काल बस उठाउन वा काट्न आवश्यक उपकरण थिएन। पछि जनेरेटरसहितको उपकरण ल्याएर बसको पछाडिको भाग काटी उद्धार गर्न सफल भयौँ,” प्रहरी उपरीक्षक खड्काले बताउनुभयो। उहाँका अनुसार मानन्धरको अवस्था सामान्य रहेको छ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको उक्त बस दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृतकको शव परीक्षणका लागि धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।

Facebook Comments Box