संस्कार र संस्कृतिको संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय
भोजपुर, २३ साउन
भोजपुरका नेवार समुदाय परम्परागत लाखे जात्रासहित स्थानीय कला, संस्कार र मौलिक परम्पराको संरक्षणमा सक्रिय छन्। पछिल्लो समय स्थानीय सांस्कृतिक सम्पदा लोप हुने खतरा बढेसँगै उनीहरू यसलाई नयाँ पुस्तासम्म पु-याउन प्रयासरत छन्।
स्थानीयवासी चन्द्रप्रसाद श्रेष्ठका अनुसार नेवार समुदायमा मादल, झ्याली र ढोलक बजाउँदै नाचिने ठाकठुके नाच, लाखे जात्रा, गाईजात्रा, बुबाआमाको मुख हेर्ने दिन, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, तिहार, म्हः पूजा, योमरी पुन्ही जस्ता चाडपर्वमा मौलिक बाजा बजाउने परम्परा कायम छ।
नेवार जात्रालाई स्थानीय समाजमा सामूहिकता, एकता र सांस्कृतिक संरक्षणको प्रतीकका रूपमा लिइन्छ। स्थानीयवासी कमल प्रधानका अनुसार कतिपय प्रचलन लोप हुने अवस्थामा पुगेकाले युवा पुस्ता संरक्षणमा अग्रसर बनेका छन्। नागपञ्चमीका दिन भीमसेन मन्दिरमा पूजा गरी सुरू हुने लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट विधिवत रूपमा सम्पन्न गरिन्छ।
नेवाः देय दवू भोजपुरका अध्यक्ष बद्री श्रेष्ठका अनुसार आधुनिकतासँगै संस्कृतिको मौलिकता हराउने अवस्था आएकाले संरक्षणका लागि जिल्लाका विभिन्न स्थानमा कार्यक्रमहरू आयोजना गरिन्छ। भोजपुर सदरमुकाम, टक्सार, दावाँ बजार, दिङला बजारलगायत नेवार बहुल क्षेत्रमा नागपञ्चमीदेखि लाखे नाच सुरू हुने र यसक्रममा स्थानीय वेशभूषा, रहनसहनको प्रदर्शनीसहित गाईजात्रा, घोडेजात्रा, वैरागी जात्रा, रोपाइँ जात्राजस्ता कार्यक्रममार्फत समाजका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गर्दै मनोरञ्जन दिने परम्परा रहेको उनले बताए।

