वैदेशिक व्यापारका सात महिनाः नौ खर्ब ५५ अर्बभन्दा बढी घाटा
काठमाडौँ, ९ फागुन – चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार रु १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख पुगेको छ। भन्सार विभागका अनुसार सो अवधिमा रु ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख बराबरको आयात र रु एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख बराबरको निर्यात भएको छ। यस अवधिमा मुलुकले रु नौ खर्ब ५५ अर्ब ३४ करोड तीन लाख बराबरको व्यापार घाटा बेहोरेको छ।
समीक्षा अवधिमा भारतसँग सबैभन्दा बढी व्यापार भएको छ। भारतबाट रु छ खर्ब २९ अर्ब २९ करोड ५९ लाख बराबरको वस्तु आयात हुँदा रु एक खर्ब ३७ अर्ब ५१ करोड ७४ लाख बराबरको निर्यात भएको छ।
यसबाट मात्रै रु चार खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख बराबरको व्यापार घाटा भएको छ। त्यस्तै चीनसँग रु दुई खर्ब ३५ अर्ब ३८ करोड २३ लाखको आयात र रु ९० करोड एक लाखको निर्यात हुँदा रु दुई खर्ब ३४ अर्ब ४८ करोड २२ लाख बराबरको घाटा भएको छ।
त्यस्तै अर्जेन्टिनासँग रु ६६ अर्ब ११ करोड ६६ लाख, संयुक्त अरब इमिरेट्ससँग रु ३९ अर्ब ७७ करोड ९८ लाख र इन्डोनेसियासँग रु १२ अर्ब ६४ करोड ४५ लाख बराबरको व्यापार घाटा भएको छ। यद्यपि रोमानिया, नर्वे र आइसल्याण्डसँग भने क्रमशः रु पाँच करोड ५२ लाख, रु तीन करोड ३३ लाख र रु दुई करोड ५७ लाख बराबरको व्यापार नाफा देखिएको विभागले जनाएको छ।
विभागका अनुसार पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी रहेको छ। यस अवधिमा रु ६९ अर्ब ९१ करोड २२ लाखको डिजेल, रु ३८ अर्ब १३ करोड ८६ लाखको पेट्रोल र रु ३१ अर्ब ८५ करोड नौ लाख बराबरको खाना पकाउने ग्यास आयात गरिएको छ।
साथै रु ३१ अर्ब नौ करोड १२ लाख बराबरको फलाम तथा फलामजन्य वस्तु, रु २१ अर्ब ३२ करोड ६१ लाख बराबरको स्मार्टफोन, रु ५९ अर्ब १३ करोड ८२ लाख बराबरको कच्चा सोयाबिन तेल र रु २१ अर्ब २० करोड बराबरको सुन आयात भएको छ।
निर्याततर्फ भने सोयाबिन तेल सबैभन्दा बढी निर्यात भएको वस्तु बनेको छ। सो अवधिमा रु ६६ अर्ब ७८ करोड ८७ लाख बराबरको सोयाबिन तेल निर्यात भएको छ। त्यस्तै अलैँची रु आठ अर्ब ६१ करोड २० लाख, सूर्यमुखी तेल रु पाँच अर्ब ७८ करोड र कार्पेट रु पाँच अर्ब ७१ करोड ८८ लाख ६९ हजार बराबरको निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

