आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै

काठमाडौँ, ९ फागुनः आज विश्वभर ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ नाराका साथ अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै छ। बहुभाषिकता र बहुसांस्कृतिकताको संरक्षण तथा प्रवर्द्धनमार्फत विविधतामा एकता कायम गर्ने र अन्तरराष्ट्रिय समझदारी अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

यो दिवस सन् २००० देखि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आह्वानमा प्रत्येक वर्ष फेब्रुवरी २१ मा मनाइँदै आएको हो।

सन् १९९९ मा बङ्गलादेशको पहलमा युनेस्कोले मातृभाषा दिवस मनाउने प्रस्ताव अघि सारेको थियो, जसलाई पछि राष्ट्रसङ्घीय महासभाले अनुमोदन गर्दै अन्तरराष्ट्रिय स्तरमा मान्यता दिएको हो।

यस अवसरमा काठमाडौँस्थित बङ्गलादेशको राजदूतावासले सहिद स्मृति दिवससँगै विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ। यस्तै, भाषा आयोगले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला तथा नेपालका लागि बङ्गलादेशका राजदूत शफीकुर रहमानलगायतको सहभागिता रहेको थियो।

युनेस्कोका अनुसार भाषा विकास, सांस्कृतिक विविधताको संरक्षण, अन्तरसांस्कृतिक संवाद प्रवर्द्धन तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न भाषाको महत्वपूर्ण भूमिका रहन्छ। मातृभाषाको संरक्षणले सांस्कृतिक पहिचान सुदृढ गर्ने र समावेशी समाज निर्माणमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

Facebook Comments Box