मनोरम दृश्यले भरिपूर्ण भोजपुरको मुन्दुम पदमार्गमा पर्यटक आकर्षण बढ्दो
भोजपुर, ९ फागुन – मुन्दुम पदमार्ग पूर्वी नेपालको आकर्षक र सहज पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन दिनानुदिन बढ्दै गएको छ।
अग्ला डाँडाकाँडा, चम्किला हिमश्रृङ्खला र तराईका समथर फाँटको दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने विशेषताका कारण यो पदमार्ग पर्यटकको रोजाइँमा पर्न थालेको हो। यात्राका क्रममा किराँत समुदायको संस्कार–संस्कृति झल्काउने संरचना, विशाल घाँसे मैदान, स्थानीय गोठालाले पालेका चौँरी र भेडीगोठले यात्रालाई थप आकर्षक बनाउने गरेका छन्।
टेम्केमैयुङ गाउँपालिका का अध्यक्ष सरोज बस्नेतका अनुसार पछिल्लो समय पदमार्गलाई सहज र सुरक्षित गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ। पदमार्गको विस्तार कार्यसमेत जारी रहेको जानकारी उनले दिए।
गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले टेम्केमैयुङ क्षेत्र प्राकृतिक रूपमा सुन्दर भएकाले पर्यटन र कृषिलाई प्राथमिकतामा राखी योजना अघि बढाइएको बताइन्। पर्यटकलाई लक्षित गर्दै पदमार्ग आसपास धारा, विश्रामस्थललगायत संरचना निर्माण गरिएको छ।
पर्यटकलाई पदमार्गको विशेषता, भौगोलिक अवस्था, भ्रमणयोग्य स्थल, यात्रा अवधि, आवास व्यवस्था तथा सुरक्षित यात्रासम्बन्धी जानकारी दिन पर्यटन सूचना केन्द्रसमेत स्थापना गरिएको छ। यस क्षेत्रमा किराँत राई, शेर्पा र तामाङ समुदायको सांस्कृतिक पहिचान झल्कने परिकारका साथै गोठालाले उत्पादन गर्ने अर्गानिक खाद्य सामग्रीको स्वाद लिन सकिन्छ। विविध वनस्पति र जडीबुटीले पनि पर्यटकको ध्यान तान्ने गरेका छन्।
यस पदमार्गबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण हिमाल लगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला अवलोकन गर्न सकिने बताइएको छ। किराँत राई समुदायको धार्मिक–सांस्कृतिक ग्रन्थ ‘मुन्दुम’सँग जोडिएकाले पदमार्गको नामकरण सोही आधारमा गरिएको हो। प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको संगमस्थलका रूपमा मुन्दुम पदमार्गले पूर्वी नेपालमा नयाँ पहिचान बनाउँदै गएको छ।

