मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी, ८ फागुन – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न भएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनाअन्तर्गत उक्त सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाउँदै अक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडाहुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७७ साल चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार १३ किलोमिटरमध्ये ९६० मिटरबाहेक सबै खण्डमा कालोपत्र र ढलानको काम सम्पन्न भएको छ। ढलान तथा कालोपत्र सकिएको भागमा रङरोगन र सुरक्षा पूर्वाधार जडानको काम भइरहेको उहाँले बताउनुभयो। वारीबेनीको ७६० मिटर तथा केराबारी र फर्से पहिरो क्षेत्रमा एक–एक सय मिटर सडक ठेक्काबाट हटाइएको जानकारी दिइएको छ।

वारीबेनीमा बस्तीबीच सडक विस्तारका क्रममा घरधनीको असहमति र फर्से तथा केराबारी क्षेत्रमा पहिरोका कारण केही खण्ड हटाइएको जनाइएको छ। २०७९ सालमै सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोना महामारी, बाढीपहिरो र नदीजन्य निर्माण सामग्रीको अभावका कारण ढिलाइ भएको थियो। सहायक ठेकेदारले काम अलपत्र पारेपछि एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा फर्किएर निर्माण सम्पन्न गरेको हो।

गत वर्ष मालढुङ्गा–फर्से खण्डमा तीन किलोमिटर ३०० मिटर कालोपत्र र दुई किलोमिटर २०० मिटर ढलान गरिएको थियो। मङ्सिर पहिलो सातादेखि सुरु भएको लस्ती–बेनी खण्डको छ किलोमिटर ५०० मिटर कालोपत्र सकिएको र प्राविधिक टोलीबाट नापजाँच भइरहेको निर्माण कम्पनीका इन्जिनियर जीवन चौधरीले जानकारी दिनुभयो।

यस सडकबाट म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीयवासी, पर्यटक तथा तीर्थयात्री आवतजावत गर्छन्। ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको यो सडक २०६८ सालमा एकतर्फी कालोपत्र गरिएको थियो। मुस्ताङ र कोरलानाका सडक सञ्जालमा जोडिएपछि सवारी चाप बढ्दा साँघुरो सडक जीर्ण बनेको थियो।

यातायात व्यवसायी बुद्धि पुनका अनुसार स्तरोन्नतिपछि मालढुङ्गा–बेनी यात्रा समय एक घण्टाबाट घटेर १५ देखि २० मिनेटमा सीमित भएको छ। जलजला गाउँपालिका–७ मिलनचोकका बाबुराम कार्कीले सडक कालोपत्रपछि धुलो र हिलोको समस्या अन्त्य भई यात्रा सहज भएको बताउनुभयो।

Facebook Comments Box