आज अन्तरराष्ट्रिय योग दिवस, देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौँ, ७ असार – ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नारासहित आज अन्तरराष्ट्रिय योग दिवस नेपालसहित विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ। हरेक वर्ष जुन २१ मा मनाइने अन्तरराष्ट्रिय योग दिवस संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा पारित गरेको प्रस्तावअनुसार सन् २०१५ देखि औपचारिक रूपमा मनाउन थालिएको हो। संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगलाई मानव स्वास्थ्य र कल्याणका लागि आवश्यक अभ्यासका रूपमा प्रस्तुत गर्दै अन्तरराष्ट्रिय योग दिवस घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो।
उक्त प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गर्नुभएको थियो। त्यसपछि युरोपियन युनियनसहित १७७ राष्ट्रको समर्थन प्राप्त गर्दै योग दिवसले संयुक्त राष्ट्रसङ्घमा सबैभन्दा छिटो समर्थन पाउने अन्तरराष्ट्रिय दिवसको कीर्तिमान कायम गरेको थियो।
नेपालमा भने अन्तरराष्ट्रिय मान्यता प्राप्त हुनुअघि नै योग दिवस मनाउने परम्परा सुरु भइसकेको थियो। विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन अर्थात् माघ १ गते योगसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्न थालिएको थियो। योग अभियन्ता डा. हरिप्रसाद पोखरेलको सक्रियतामा नेपालमा योगको प्रचारप्रसार र जनचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन हुँदै आएको छ।
योग, ध्यान र आयुर्वेदलाई प्राचीनकालदेखि नै मानसिक शान्ति, शारीरिक स्वास्थ्य र जीवनशैली सुधारको महत्वपूर्ण माध्यमका रूपमा लिने गरिन्छ। आधुनिक जीवनशैलीका कारण केही समय ओझेलमा परेको योग पछिल्लो समय विश्वव्यापी रूपमा लोकप्रिय बनेपछि नेपालमा पनि यसको अभ्यासप्रति आकर्षण बढ्दै गएको छ।
नेपाल सरकारले विसं २०७२ साउन २८ गते मन्त्रिपरिषद्को निर्णयबाट माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो। त्यसयता नेपालमा माघ १ मा राष्ट्रिय योग दिवस र जुन २१ मा अन्तरराष्ट्रिय योग दिवस मनाउने परम्परा कायम छ। अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज बिहान राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। अन्तरराष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा हुने कार्यक्रममा योग अभ्यास, योगासन प्रदर्शन तथा योगको महत्वबारे जानकारी गराइनेछ।
मुख्यसचिवको विशेष उपस्थितिमा हुने उक्त कार्यक्रममा योगमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन, रोग निवारण र मानसिक सन्तुलन कायम गर्ने विषयमा समेत जोड दिइने जनाइएको छ। योग अभियन्ताहरूका अनुसार रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन योग प्रभावकारी माध्यम भएकाले यसको अभ्यासलाई समाजका सबै तहसम्म विस्तार गर्न आवश्यक छ।

