सात महिनामा मुस्ताङमा तीन लाख २५ हजारभन्दा बढी पर्यटक
मुस्ताङ, ८ फागुन – चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङ का अनुसार साउनदेखि माघसम्म ६९ हजार ८१४ विदेशी र दुई लाख ५२ हजार ६६४ स्वदेशी पर्यटक जिल्लामा प्रवेश गरेका हुन्।
प्रहरीको तथ्याङ्कअनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार चार जना पर्यटक मुस्ताङ पुगेका छन्।
गत आर्थिक वर्षको साउनदेखि माघसम्म तीन लाख ४० हजार ७२९ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। चालु आवको सोही अवधिमा १८ हजार १७१ जना अर्थात् ५.३३ प्रतिशतले कमी आएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार म्याग्दी–मुस्ताङ सिमानाको घाँसामा सडकमार्ग हुँदै भित्रिने पर्यटकको अभिलेख सङ्कलन गरिन्छ।
साथै पोखरा–जोमसोम हवाई सेवा र मनाङ हुँदै थोरङ्ला पास पार गरी मुस्ताङ प्रवेश गर्ने पर्यटकको विवरण सम्बन्धित प्रहरी एकाइले सङ्कलन गर्ने गरेका छन्। प्रहरी तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा चार लाख ५४ हजार ३२६ र २०८१/८२ मा सात लाख पाँच हजार ७७९ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए।
बेनी–जोमसोम–कोरला सडक बर्सेनि सहज बन्दै गएसँगै पर्यटक आगमनदर वृद्धि हुँदै आएको छ। सार्क राष्ट्रका पर्यटकमध्ये अधिकांश भारतीय पर्यटकले मुक्तिनाथ मन्दिर दर्शन गरी फर्किने गरेका छन्। अन्य विदेशी पर्यटक भने सडकमार्ग र मनाङ हुँदै थोरङ्ला पास पार गरी मुस्ताङ पुग्ने गर्छन्।
कागबेनीधाममा श्राद्ध गर्न तथा मुक्तिनाथ दर्शनका लागि स्वदेशी पर्यटकको सङ्ख्या पनि बढ्दो छ। कुल पर्यटकमध्ये करिब तीन प्रतिशत विदेशीले माथिल्लो मुस्ताङ भ्रमण गर्ने गरेका छन्। पछिल्लो समय जोमसोम–कोरला सडक सहज भएपछि स्वदेशी पर्यटक कोरला नाकासम्म पुग्ने क्रम बढेको पाइएको छ।

