फोहरको दिगो व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्ने उपत्यका मेयर्स फोरमको निर्णय

काठमाडौँ, ८ फागुन – उपत्यका मेयर्स फोरम ले काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ। फोरमअन्तर्गतको फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समितिले फोहर व्यवस्थापनका विधि र प्रविधिबारे अध्ययन गर्नुका साथै उपत्यकाका सबै स्थानीय तहबीच आवश्यकताअनुसार समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्ने जनाएको छ।

फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिका का प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको १३औँ बैठकले गोदावरीदेखि बूढानीलकण्ठसम्म साइकल लेनसम्बन्धी कानुन निर्माण गरी गुरुयोजना तयार गर्ने, पूर्वाधार निर्माण तथा सञ्चालनका लागि सरकारसँग सहकार्य गर्ने निर्णय गरेको हो।

बैठकपछि अध्यक्ष महर्जनले उपत्यकाको एकीकृत विकासमार्फत नागरिक जीवन सहज बनाउन विभिन्न क्षेत्रमा सहकार्य आवश्यक रहेको बताए। मेट्रोको अवधारणा कार्यान्वयनका लागि सङ्घीय सरकारसँग सहकार्य गर्न उपत्यकाका स्थानीय तहहरू तयार रहेको उल्लेख गर्दै उनले आवश्यक पूर्वाधार निर्माण र सञ्चालनमा आफूहरू प्रतिबद्ध रहेको जानकारी दिए।

बैठकमा काठमाडौं महानगरपालिका की कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल, बस्तीको मौलिकता तथा सांस्कृतिक–सामाजिक परिवेश सुहाउँदो ढाँचाको छनोट गरी पूर्वाधार निर्माण गर्नुपर्ने बताइन्। विगतमा गरिएका अध्ययनहरूको पुनरावलोकन गरी उपयुक्त मोडेल छनोट गर्नुपर्ने उनको भनाइ थियो।

उनले सीमाविहीन समस्याहरूलाई प्रशासनिक सिमानाभन्दा माथि उठेर सहअस्तित्व र समन्वयका आधारमा समाधान गर्नुपर्नेमा जोड दिइन्। आगामी बैठकमा उपत्यकामा सार्वजनिक यातायात सञ्चालनसम्बन्धी विगतका अध्ययन प्रतिवेदनको विश्लेषण प्रस्तुत गरिने अध्यक्ष महर्जनले जानकारी दिए।

फोरमले फोहर व्यवस्थापन, सार्वजनिक यातायात, खानेपानी वितरण, नदी सभ्यताको संरक्षण, खाद्य स्वच्छता, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणजस्ता साझा समस्याको समाधानका लागि समन्वयात्मक पहल अघि बढाउने जनाएको छ।

Facebook Comments Box