निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक प्रतियोगिता घोषणा

काठमाडौँ, ८ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै जाँदा निर्वाचन आयोग ले मतदाता शिक्षालाई प्रभावकारी बनाउन टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ। निर्वाचन आउन १३ दिन मात्र बाँकी रहँदा आयोगले युवालाई लक्षित गर्दै यस्तो अभियान सुरु गरेको हो।

आयोगका अनुसार निर्वाचनको महत्व, आवश्यकता, आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य तथा मतपत्रमा सही तरिकाले छाप लगाउने विषयमा आधारित एक मिनेट अवधिको भिडियो तयार गरी सहभागी हुन सकिनेछ। भिडियो संवादमूलक तथा सन्देशमूलक हुनुपर्ने र मौलिक अडियो तथा अभिनयलाई प्राथमिकता दिइने जनाइएको छ।

प्रतियोगितामा सहभागी हुन चाहनेले तयार पारेको भिडियो आफ्नो सामाजिक सञ्जालमा प्रकाशन गरी आगामी फागुन १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्नेछ। सबैभन्दा बढी भ्युज प्राप्त गर्ने भिडियोमध्ये उत्कृष्ट तीनलाई नगद पुरस्कार प्रदान गरिनेछ। पहिलो हुनेलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रोलाई रु २० हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ।

एक व्यक्तिले एक विषयमा एउटा मात्र भिडियो पठाउन सक्नेछन् भने दुई वा दुईभन्दा बढी व्यक्ति मिलेर पनि भिडियो निर्माण गर्न सक्ने व्यवस्था गरिएको छ। प्राप्त भिडियोमाथि आयोगको अधिकार रहने र आवश्यकताअनुसार आयोगका सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सकिने सूचनामा उल्लेख छ। आयोगले निर्वाचनलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ।

Facebook Comments Box