‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

काठमाडौँ, ७ फागुन – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक अस्थायी मतदाता नामावली सङ्कलन तथा मतदान प्रक्रियालाई व्यवस्थित बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ।

मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गर्दै आयोगले उक्त कार्यविधि जारी गरेको जनाएको छ। कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली सङ्कलन कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ भने आवश्यकताअनुसार राष्ट्रियस्तरका सञ्चारमाध्यममार्फत सूचना प्रकाशन तथा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।

कार्यविधिमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिने कर्मचारी र सुरक्षाकर्मी, साथै संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नाम स्थायी मतदाता नामावलीमा समावेश हुने प्रावधान गरिएको छ। यस्तै, कसैको नाम छुटेको वा विवरणमा त्रुटि देखिएमा सम्बन्धित व्यक्तिले प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्ने आयोगले स्पष्ट पारेको छ।

Facebook Comments Box