निर्वाचनको मिति घोषणापछि सत्ता गठबन्धनको बैठक पहिलो पटक बस्दै

काठमाडौँ, २० साउन -प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि सत्ता गठबन्धनको बैठक पहिलो पटक बस्दै छ । आज  विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । बिहीबार सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको थियो ।

निर्वाचनको मिति घोषणा भइ सकेकाले गठबन्धनका नेताहरु सीट बाँडफाँडको मोडालिटीबारे छलफलमा जुटेका छन् । चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलमा मोडालिटीतिर केन्द्रित बनेको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस प्रवेश भएको थियो ।

०७४ मा जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र सांगठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउनेबारे गठबन्धनमा छलफल भइरहेको छ । सोही मोडालिटीमा टेकेर सिट बाँडफाँटका लागि आज कार्यदल बनाउने काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । पौडेलका अनुसार कार्यदलले तयार पार्ने मापदण्डका आधारमा शीर्ष नेता बसेर सिट बाँडफाँट गरिने छ ।

गठबन्धन दलले चुनावी मुद्दामा समेत साझा धारणा बनाएर जाने पौडेलको भनाइ छ । त्यसको गृहकार्य समेत कार्यदललाई दिने गठबन्धनमा सहमति भइसकेका उनले बताए । सीट बाँडफाँड र गठबन्धनको साझा धारणासँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरिएको छ ।

Facebook Comments Box