भरूवा बन्दुकसहित दुई जना पक्राउ
दमौली, ६ फागुन — तनहुँको देवघाट गाउँपालिका–४बाट दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवघाट–४ सार्वाङका ४० वर्षीय पूर्णबहादुर गुरुङ र २४ वर्षीय अर्जुन गुरुङ रहेका छन्।
इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरी टोलीले रिस्ती खोलाबाट उनीहरूलाई बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो।
ग्रामीण क्षेत्रमा गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा फेला परेका उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट बारुदजस्तो देखिने कालो पदार्थ र फलामका टुक्रासमेत बरामद गरिएको छ।
दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

