४० किलो गाँजासहित पाँच जना पक्राउ, चोरी तथा डाँकामा संलग्न दुई जना पक्राउ
काठमाडौँ, २७ असार ( नेपाल प्रहरीले लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेहरूमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ, शङ्कर चेपाङ र काठमाडौँ महाराजगञ्जका जीवन प्रजा तथा सुमन चेपाङ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले काठमाडौँको कोटेश्वरस्थित सुननम चेपाङको डेरामा गाँजा लुकाइछिपाई राखी बिक्री वितरण गरिरहेका थिए। प्रहरीले सोही स्थानबाट करिब ४० किलोग्राम गाँजा बरामद गर्नुका साथै रु १ लाख २५ हजार नगदसमेत फेला पारेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई लागुऔषध कारोबारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
त्यस्तै गरी चोरी तथा डाँका मुद्दामा संलग्न दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ का अञ्जन तामाङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ का सुरेश तामाङ रहेका छन्।प्रहरीका अनुसार २०८१ साल चैत २९ गते पोखराको अमरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको यात्रुबाहक बसमा सवार एक महिलाको घाँटीमा लगाएको करिब दुई तोलाको सुनको सिक्री पोखरा–१० शिवचोकमा लुटिएको थियो।
उक्त अभियोगमा तामाङद्वयलाई काठमाडौँको गोकर्णेश्वर–४ बाट पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।

