निर्वाचन हुन १५ दिन बाँकी : निर्वाचनअघि प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह
काठमाडौँ, ६ फागुन – निर्वाचन हुन १५ दिन बाँकी रहँदा निर्वाचन आयोगले प्रविधिको दुरुपयोग नगर्न सबै पक्षलाई आग्रह गरेको छ। आयोगले प्रविधिको तीव्र विकाससँगै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) प्रयोग गरी तयार पारिने दिग्भ्रमित सामग्रीले निर्वाचनको निष्पक्षतालाई नै असर पार्न सक्ने जोखिम औँल्याएको छ।
सामाजिक सञ्जालमार्फत गलत सूचना सम्प्रेषण नगर्न र नगराउन आयोगले आम सञ्चार माध्यम तथा सम्बन्धित पक्षसँग विशेष अनुरोध गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एआई प्रयोग गरी सिर्जना गरिएका भ्रामक सामग्री सामाजिक सञ्जालमा नराख्न तथा निर्वाचनलाई मर्यादित बनाउन सहयोग गर्न आग्रह गर्नुभयो।
उहाँले मतदानअघि नै मत सर्वेक्षणका नतिजा सार्वजनिक गर्ने अभ्यासप्रति पनि आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो। मतदान हुनुअघि मतदाताको धारणा आधार मानेर हार–जितको अनुमान सार्वजनिक गर्ने कार्यले प्रतिस्पर्धात्मक वातावरणमा असर पार्न सक्ने आयोगको भनाइ छ।
निर्वाचन आचारसंहिता, २०८२ ले मतदाताको स्वतन्त्र निर्णयलाई प्रभावित पार्ने गतिविधि नगर्न स्पष्ट व्यवस्था गरेको आयोगले स्मरण गराएको छ। आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई आ–आफ्नो जिम्मेवारी सम्झेर काम गर्न आग्रह गरेको छ।

