महाशिवरात्रिः गरगहना लगाएर पशुपतिनाथ नजान प्रहरीको अनुरोध
काठमाडौं, २ फागुन – महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आउने भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले १३ बुँदे अनुरोध जारी गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चोरी तथा लुटपाटका घटना हुनसक्ने भएकाले बहुमूल्य गरगहना नलगाउन तथा महत्त्वपूर्ण र महँगो सरसामान साथमा नल्याउन अनुरोध गरिएको जानकारी दिनुभयो।
प्रहरीका अनुसार मन्दिर परिसरमा झोला नल्याउन, प्लास्टिकका झोला, कप, प्लेटलगायत निषेधित सामग्री प्रयोग नगर्न तथा दूध, गङ्गाजललगायत सामग्री ल्याउँदा फुट्ने काँचका भाँडा प्रयोग नगर्न आग्रह गरिएको छ।
भक्तजनलाई दर्शनका लागि तोकिएको कक्षमा जुत्ताचप्पल सुरक्षित रूपमा राखेर मात्र मन्दिर प्रवेश गर्न र दर्शनपछि अनावश्यक रूपमा परिसरमा भीड नगरी छिट्टै बाहिरिन पनि अनुरोध गरिएको छ।
प्रहरीले मन्दिर प्राङ्गणभित्र मोबाइल फोन, क्यामरा लगायत उपकरणको प्रयोग निषेध गरिएको उल्लेख गर्दै छालाका सामान, जुत्ता, ज्याकेट तथा कम्मरपेटी लगाएर प्रवेश नगर्न पनि सचेत गराएको छ।
यसैगरी, पाकेटमाराबाट सावधान रहन, आफ्नो सामानको सुरक्षा आफैँ गर्न, कुनै तीर्थयात्री अस्वस्थ भएमा स्वास्थ्य शिविरमा सम्पर्क गर्न तथा कुनै सामान हराएमा वा समस्या आएमा तत्काल प्रहरी शिविर वा खोजखबर कक्षमा जानकारी गराउन आग्रह गरिएको छ।
मेला क्षेत्रलाई स्वच्छ राख्न जथाभावी फोहोर नगर्न, शौचालयको प्रयोग गर्न, जेष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई सहज दर्शनका लागि सहयोग गर्न तथा कुनै विशेष टिकट वा पासको व्यवस्था नभएकाले पङ्क्तिबद्ध रूपमा दर्शन गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

