भारतको मेघालय कोइलाखानी विस्फोट : मृतकका परिवारलाई आर्थिक सहयोग
खोटाङ, २ फागुन – भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिकाका एक नागरिकका परिवारलाई नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ। रोजगारीका सिलसिलामा चार महिनाअघि मेघालय जानुभएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५० वर्षीय रत्न राईको गत माघ २२ गते कोइलाखानीमा काम गर्ने क्रममा विस्फोटमा परी मृत्यु भएको थियो।
नगरपालिकाले मृतककी श्रीमती मिना राई (तामाङ)लाई रु ५१ हजार आर्थिक सहयोग उपलब्ध गराएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो। दुर्छिमस्थित जोरकाफलका राई दम्पतीका दुई छोरा र दुई छोरी छन्। ज्यालामजदुरीबाट घर व्यवहार चलाउँदै आएका रत्नको निधनपछि परिवार आर्थिक संकटमा परेको स्थानीयले बताएका छन्।
उक्त घटनामा खोटाङकै बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र सोही वडाको भञ्ज्याङका ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको पनि मृत्यु भएको छ। पूर्णिराम र सुरेन्द्र दाजुभाइ रहेको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो।
गम्भीर घाइते नरबहादुरको माघ २३ गते सिलोङस्थित निलग्रीन हस्पिटलमा उपचारका क्रममा निधन भएको हो। मृतक तीनै जनाको अन्त्येष्टि भारतमै गरिएको जनाइएको छ। विस्फोटमा गम्भीर घाइते भएका चार नेपालीको सिलोङस्थित निलग्रीन हस्पिटलमै उपचार भइरहेको मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभयो।
उहाँका अनुसार बराहपोखरी–१ सालघारीका ४७ वर्षीय कर्णबहादुर खपाङ्गी मगर र भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ४८ वर्षीय दावा शेर्पा तथा उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका ललितबहादुर लुङ्गेली मगर उपचाररत छन्।
गत पुस ३ गते रोजगारीका लागि घरबाट हिँडेका तीन जनाको एउटै घटनामा ज्यान गएपछि बराहपोखरी गाउँपालिका शोकमा डुबेको छ। गाउँपालिकाले मृतकका परिवारलाई प्रतिव्यक्ति रु ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले जानकारी दिनुभयो। घटनापछि मृतकका परिवारलाई राहत तथा घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियानसमेत सुरु गरिएको स्थानीय इन्द्र लिमेल मगरले बताउनुभयो।

