सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर, २१ मङ्सिर – जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–६ कोटमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४४३ जनाले सेवा लिएका छन्। नयाँ श्रीनाथ गण, भोजपुरले शनिबार आयोजना गरेको एकदिने शिविर ग्रामीण भेगका नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको हो।

नयाँ श्रीनाथ गणका प्रमुख पर्शुराम थापाका अनुसार स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका गाउँपालिकाका बासिन्दालाई विशेषज्ञ सेवा पुर्याउँदै समुदायसँगको आत्मीयता मजबुत बनाउनु शिविरको मुख्य लक्ष्य हो। शिविर नेपाली सेनाको नेतृत्वमा टेम्केमैयुङ गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, सिद्धकाली फार्मेसी, जिल्ला आयुर्वेदिक अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थाको सहकार्यमा सञ्चालन गरिएको हो।

विभिन्न विशेषज्ञद्वारा सेवा

शिविरमा—

  • कान, नाक, घाँटी (ईएनटी)

  • आँखासम्बन्धी समस्या

  • बालरोग

  • दन्तरोग

  • स्त्रीरोग

  • सामान्य स्वास्थ्य परीक्षण

लगायतका सेवामा विशेषज्ञ चिकित्सकले निःशुल्क जाँच र परामर्श प्रदान गरे। आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो। गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईका अनुसार सदरमुकाम पुग्न कठिन हुने, दैनिक व्यस्तता र आर्थिक कारणले स्वास्थ्य सेवा पाउन नसक्ने स्थानीयका लागि सेनाले गाउँमै सेवा पुर्याउनु प्रशंसनीय पहल हो।

शिविर जनोदय माध्यमिक विद्यालय, कोट परिसरमा सञ्चालन गरिएको थियो। नेपाली सेनाले ग्रामीण तथा दुर्गम क्षेत्रमा नियमित रूपमा यस्ता सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस प्रकारका शिविरले स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताउनुभयो।

Facebook Comments Box