निर्वाचन १९ दिन बाँकीः १४ जिल्लाको मतपत्र छपाइ बाँकी

काठमाडौँ, २ फागुन – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका आसपासका १४ जिल्लाको मतपत्र छपाइ मात्र बाँकी रहेको छ। भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइ भइरहेको छ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको छ। हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी र डडेल्धुरासहित विभिन्न जिल्लाका मतपत्र छपाइ सकिएको छ।

यस्तै दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम (नवलपरासी) र मोरङका मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

त्यसैगरी उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रेपलाञ्चोक गरी ६३ जिल्लाको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ।

अब काठमाडौँ उपत्यका वरपरका १४ जिल्लाको मतपत्र छपाइ बाँकी रहेको र आगामी तीन दिनभित्र छपाइ सम्पन्न गर्ने लक्ष्य रहेको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो। छपाइ सम्पन्न भएका जिल्लाका मतपत्र प्याकिङ गरिसकिएको छ। हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ भने दैनिक करिब एक हजार बाकस प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।

गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु गरिएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको छ। दोस्रो चरणमा दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजु कार्य गरी ढुवानीका लागि तयारी गरिएको आयोगले जनाएको छ। प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र आवश्यक पर्ने आयोगको भनाइ छ।

यसैबीच, छपाइ सम्पन्न भएका मतपत्र आजदेखि कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन सुरु गरिएको छ। सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लामा मतपत्र ढुवानी सुरु भएको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो।

Facebook Comments Box