नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड

काठमाडौँ, ९ फागुन – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ।

भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उहाँले सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना तथा मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानी स्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको आर्थिक साझेदारीलाई विशिष्ट बनाएको धारणा व्यक्त गर्नुभयो।

महासङ्घद्वारा जारी विज्ञप्तिअनुसार उहाँले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र आपूर्ति शृङ्खलामा देखिएका अवरोधका कारण छिमेकी राष्ट्रबीचको सहकार्य अझ महत्वपूर्ण भएको बताउनुभयो।

भारतले हालै सार्वजनिक गरेको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवर्द्धनमा दिएको प्राथमिकताले नेपालका लागि पनि नयाँ अवसर सिर्जना गर्ने उहाँको भनाइ थियो।

अध्यक्ष ढकालले नेपाल जलविद्युत्मा समृद्ध रहेको र भारततर्फ विद्युत् निर्यात सुरु भइसकेको उल्लेख गर्दै पर्याप्त प्रसारण लाइन र नीतिगत स्थायित्व सुनिश्चित भए नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताउनुभयो।

त्यस्तै, उहाँले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक र आध्यात्मिक पर्यटनका कारण होटल, रिसोर्ट तथा केबलकार परियोजनामा लगानीको अवसर विस्तार भइरहेको उल्लेख गर्नुभयो।

ऊर्जा, पर्यटन, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा पर्याप्त लगानी सम्भावना रहेको भन्दै उहाँले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो।

अध्यक्ष ढकालले नेपालको निजी क्षेत्रले सधैँ राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै दीर्घकालीन लगानीकर्ताको विश्वास कायम गर्न नीतिगत सुधारहरू भइरहेको बताउनुभयो।

उहाँले इन्डो–नेपाल व्यापार महोत्सवलाई औपचारिक कार्यक्रम मात्र नभई सद्भावनालाई व्यावसायिक साझेदारीमा रूपान्तरण गर्ने महत्वपूर्ण मञ्चका रूपमा उल्लेख गर्दै हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन भारतीय उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई आह्वान गर्नुभयो।

Facebook Comments Box