बंगलादेशमा बीएनपीको बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

ढाका,  १ फागुन – बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ। यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ। बंगलादेशका कुल ३०० सिटमध्ये २९९ सिटमा बिहीबार मतदान भएको थियो। शेरपुर–३ निर्वाचन क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएपछि त्यहाँको मतदान स्थगित गरिएको थियो।

ढाका ट्रिब्युनका अनुसार २९९ सिटमध्ये २०६ सिटको मतपरिणाम सार्वजनिक हुँदा बीएनपीले १६५ सिटमा जित हासिल गरेको छ। पार्टी अध्यक्ष तारिक रहमानले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवै स्थानबाट विजयी भएका छन्। उनी गत वर्ष डिसेम्बरमा १७ वर्षपछि स्वदेश फर्किएका थिए।

जमात–ए–इस्लामीको नेतृत्वमा बनेको ११ दलीय गठबन्धनले हालसम्म ४५ सिट जितेको छ। जमात प्रमुख शफीकुर रहमानले ढाका–१५ निर्वाचन क्षेत्रबाट जित हासिल गरेका छन्। अन्य दल तथा स्वतन्त्र उम्मेदवारले तीन सिटमा विजय प्राप्त गरेका छन्।

करीब दुई दशकदेखि सत्ताबाहिर रहेको बीएनपीले यस निर्वाचनमार्फत सत्तामा बलियो पुनरागमन गरेको छ। पार्टीले दुई तिहाइभन्दा बढी बहुमत प्राप्त हुने अपेक्षा व्यक्त गरेको छ। मतदानपछि अध्यक्ष रहमानले आफू निर्वाचित भएमा देशको कानून–व्यवस्था सुधार आफ्नो पहिलो प्राथमिकता हुने बताएका थिए।

यो निर्वाचन जुलाई २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि सम्पन्न पहिलो राष्ट्रिय चुनाव हो। हिंसात्मक आन्दोलनपछि देश छाडेर भारत गएकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाइएकाले उक्त दलले चुनावमा भाग लिन पाएन।

हाल भारतमा निर्वासन जीवन बिताइरहेकी शेख हसिनाले निर्वाचनलाई पूर्णरूपमा फर्जी र असंवैधानिक भन्दै आलोचना गरेकी छन्। उनले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले गैरकानुनी ढंगले सत्ता कब्जा गरी सोही आधारमा चुनाव गराएको आरोप लगाएकी छन्।

Facebook Comments Box