मधेस प्रदेश सरकार गठनको एक महिना बित्दा पनि मन्त्रिमण्डल अपूर्ण
धनुषा, १५ पुस – मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले अझै पूर्णता पाउन सकेको छैन। छ दलको समर्थनमा गत मङ्सिर १९ गते मुख्यमन्त्री नियुक्त हुनुभएका यादवले पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरिसक्नुभएको भए पनि त्यसपछि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन।
सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्म पाँच जना मात्र मन्त्री नियुक्त हुँदा छ वटा मन्त्रालय मन्त्रीविहीन छन्। यसले प्रशासनिक निर्णय, नीति कार्यान्वयन र सेवा प्रवाहमा प्रत्यक्ष असर पर्न थालेको जानकारहरूको भनाइ छ।
वर्तमान सरकारलाई जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एकीकृत समाजवादी पार्टीको समर्थन रहेको छ। हाल लोसपाले शिक्षा तथा संस्कृति, जनमत पार्टीले अर्थ, कांग्रेसले स्वास्थ्य, माओवादी केन्द्रले ऊर्जा, सिँचाइ तथा खानेपानी र एकीकृत समाजवादीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय सम्हालिसकेका छन्। जसपाले सभामुख पद प्राप्त गरेको छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले दलहरूभित्र आन्तरिक छलफल र मन्त्री छनोट प्रक्रियाका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताउनुभयो। “केही दिनभित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ,” उहाँले भन्नुभयो।प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल अपूर्ण रहनु सरकारको कमजोरी भएको टिप्पणी गर्दै तत्काल विस्तार गर्न माग गर्नुभयो।
“मन्त्रिमण्डल पूर्ण नभएसम्म सरकार कमजोर देखिन्छ र जनसेवामा असर पर्छ,” उहाँले भन्नुभयो। माओवादी केन्द्रका नेता युवराज भट्टराईले मन्त्रालय बाँडफाँटको विषय टुङ्गिएको दाबी गर्दै मुख्यमन्त्री काठमाडौँबाट फर्किएपछि मन्त्रिमण्डल विस्तार हुने बताउनुभयो। उहाँका अनुसार आगामी निर्वाचनका कारण मुख्यमन्त्री व्यस्त रहँदा सरकार विस्तारमा ढिलाइ भएको हो।
मन्त्रिमण्डल लामो समयसम्म अपूर्ण रहनु प्रदेशको सुशासन, विकास निर्माण र दैनिक प्रशासनिक कामकाजका लागि प्रतिकूल हुने भन्दै नागरिक समाज र प्रशासनिक क्षेत्रबाट चिन्ता व्यक्त हुन थालेको छ।

