बेनीदेखि दिल्लीसम्म सीधा बस सेवा सुरु

म्याग्दी, २१ माघ – म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिको संयुक्त पहलमा बेनी कालिपुल बसपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या र आग्राहुँदै नयाँ दिल्लीसम्म पुग्ने बस सेवा आजदेखि सुरु गरिएको हो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उक्त बस सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो । मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीका अनुसार यस सेवाले म्याग्दी र मुस्ताङका धार्मिक तथा पर्यटकीय गन्तव्यलाई भारतसँग जोड्दै भारतीय पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

उहाँका अनुसार बेनीदेखि नयाँ दिल्लीसम्मको यात्रा करिब २७ घण्टामा सम्पन्न हुनेछ । बेनीबाट हरेक दिन बिहान ६ः४५ बजे र नयाँ दिल्लीको सरोजनी नगरबाट साँझ ४ः०० बजे बस प्रस्थान गर्ने तालिका तय गरिएको छ । बेनीदेखि नयाँ दिल्लीसम्म प्रतियात्रु भाडा ५ हजार ४ सय रुपैयाँ र दिल्लीबाट बेनीसम्म ३२ सय भारतीय रुपैयाँ कायम गरिएको छ ।

४५ सिट क्षमताको बसले करिब १४ सय किलोमिटर दूरी तय गर्नेछ । यस सेवाबाट म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ । यसअघि भारत जान पोखरा पुगेर मात्रै बस चढ्नुपर्ने बाध्यता रहेकोमा अब सो समस्या हटेको मङ्गला गाउँपालिका–१ भरजुलाका सुसन किसानले बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख केसीले दिल्लीसँग प्रत्यक्ष यातायात सम्पर्क स्थापित भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । गलेश्वरधाम, पुलहआश्रम तथा मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शनका लागि आउने भारतीय पर्यटकलाई यो सेवा सहज हुने उहाँले बताउनुभयो ।

सृष्टि यातायात प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले नेपाल–भारत मैत्री बस सेवा कार्यक्रमअन्तर्गत दिल्लीदेखि कालीगण्डकी करिडोर हुँदै म्याग्दी र चीनको सिमानामा रहेको कोरला नाकासम्म यातायात सञ्चालनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

मुस्ताङको मुक्तिनाथ मन्दिरमा वार्षिक एक लाखभन्दा बढी भारतीय श्रद्धालु आउने गरेको उल्लेख गर्दै यातायात व्यवसायी ऐनबहादुर शाहीले म्याग्दीबाट भारत जाने यात्रुका लागि यो सेवा रेलभन्दा सस्तो, सुरक्षित र सहज हुने बताउनुभयो ।

Facebook Comments Box