कामपाका सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
काठमाडौँ, २१ माघ – काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीको दैनिक हाजिरी व्यवस्थापनका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ ।
शिक्षा विभाग र सूचना प्रविधि विभागले संयुक्त रूपमा विकास गरेको यस प्रणालीमार्फत सामुदायिक विद्यालयहरूलाई एउटै प्रणालीमा आबद्ध गरिएको हो ।
महानगरपालिकाले सबै विद्यालयलाई ‘युजर नेम’ र ‘पासवर्ड’ उपलब्ध गराइसकेको छ । हाल जनकल्याण मावि, टङ्गाल मावि, गीतामाता मावि, ज्ञानोदय मावि, तरुण मावि, रत्नराज्य मावि, पद्मोदय मावि, जनपथ मावि र विश्व निकेतन माविका शिक्षक तथा कर्मचारीको विवरण डाटा इन्ट्री र फेस रिडिङ प्रक्रियामार्फत प्रणालीमा समावेश गरिएको छ ।
शिक्षा विभागका निमित्त प्रमुख केशवप्रसाद ज्ञवालीका अनुसार विद्यार्थीहरूको तथ्याङ्क प्रविष्ट गर्ने र फेस रिडिङ प्रक्रिया पनि निरन्तर भइरहेको छ ।
उक्त प्रणाली विकासमा महानगरपालिकाकै आन्तरिक जनशक्तिको प्रयोग गरिएको छ । यसबाट प्रणाली विकासमा परनिर्भरता घट्दै गएको महानगरपालिकाले जनाएको छ ।
प्रणाली कार्यान्वयनपछि विद्यालयको लेखा तथा प्रशासनिक काम गर्ने कर्मचारीलाई हाजिरी प्रणाली सञ्चालनसम्बन्धी तालिमसमेत प्रदान गरिएको छ ।
तालिमपछि डाटा इन्ट्री, अद्यावधिक तथा प्रतिवेदन तयार गर्ने काम विद्यालयबाटै हुने छ भने रियल टाइम सूचना महानगरपालिकाको केन्द्रीय प्रणालीबाट निगरानी गर्न सकिनेछ ।
सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले महानगरपालिकाको आफ्नै प्रणाली विकास हुनु ठूलो उपलब्धि भएको बताउँदै अब सेवाका लागि परामर्शदातामाथि निर्भर हुन नपर्ने उल्लेख गर्नुभयो ।
सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालका अनुसार प्रणालीमा सबै तथ्याङ्क प्रविष्ट भएपछि यसलाई सब–नेशनल ट्रेजरी रेगुलेटोरी एप्लिकेसन (सूत्र) सँग आवद्ध गर्ने योजना रहेको छ ।
महानगरपालिकाका अनुसार यो प्रणाली व्यक्तिगत प्रोफाइलका रूपमा पनि प्रयोग गरिनेछ, जसमा विद्यार्थीले आफ्नो विवरण आफैँ हेर्न सक्नेछन् । आगामी दिनमा विद्यार्थी अनुपस्थित भएको जानकारी अभिभावकलाई पठाउने सुविधा विकास गर्ने योजना पनि रहेको छ ।

