घरघरमा स्वस्थानी व्रत कथा समापन

काठमाडौँ, १८ माघ – माघ शुक्ल पूर्णिमाका अवसरमा आज एक महिना लामो स्वस्थानी व्रत कथा विधिपूर्वक समापन गरिएको छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको व्रत आज मध्याह्नकालपछि पूजा–आराधना गरी टुंग्याएका हुन्।

एक महिनासम्म नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आएका भक्तजनले आज स्कन्द पुराणअन्तर्गत केदारखण्डको माघ माहात्म्यमा आधारित स्वस्थानी कथा वाचन–श्रवणको समापन गरे। कथामा कुमार र अगस्त्यबीचको संवाद समेटिएको छ।

व्रत समापनका क्रममा १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, विभिन्न फलफूल, धुप, बत्ती, नैवेद्यलगायत सामग्री अर्पण गरी भगवतीलाई अर्घ्य दिइने परम्परा छ। चढाइएका प्रसादमध्ये आठ–आठ पाती पति, पति नभए छोरालाई र उनीहरू पनि नभए नजिकको पवित्र नदीमा विसर्जन गर्ने विधि रहेको छ। राति जाग्राम बसी देवीको माहात्म्य सुनिने–सुनाइने चलन छ।

स्वस्थानीको शाब्दिक अर्थ ‘आफू बसेको स्थानकी देवी’ भन्ने बुझिन्छ। उत्तरायणपछिको समय ध्यान र साधनाका लागि उपयुक्त मानिने भएकाले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको अवधिलाई स्वस्थानी व्रतका लागि उत्तम मानिने धार्मिक विश्वास छ।

व्रतकथामा स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, कमलासनमा विराजमान, चार हातमा नीलकमल, खड्ग, ढाल र वरदमुद्रा धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ। विधिपूर्वक व्रत गरेमा मनोकामना पूरा हुने, रोगव्याधि निको हुने र बिछोड भएका जोडी पुनर्मिलन हुने विश्वास प्रचलित छ।

साँखुको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले व्रतविधि पालन गर्दा पुत्र वियोगबाट मुक्ति पाएको र उनका छोरा नवराज लावण्य साँखु क्षेत्रका राजा बनेको कथासमेत स्वस्थानीमा उल्लेख छ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज मध्याह्नपछि पूजा सम्पन्न गरी राति जाग्राम बसेर बिहीबार बिहान फूलपाती नदीमा विसर्जन गरेसँगै यस वर्षको स्वस्थानी व्रत समापन हुने विधि छ।

यसैबीच, उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिएको छ। शालिनदीमा १६२ महिला र १५ पुरुषले एक महिना लामो कठोर व्रत गरेका थिए। आजको दिनलाई नेवार समुदायले सि पुन्हिका रूपमा मनाउँछन्।

Facebook Comments Box