कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

कर्णाली, १५ माघ – नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरेको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण पूरा भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार उक्त प्रसारण लाइनलाई तत्कालै राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । त्यसका लागि बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेत जिल्लाको सुब्बाकुनामा निर्माण गरिएको सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण सुरु गरिनेछ ।

प्रवक्ता ढकालले परीक्षण सफल भएपछि प्रसारण लाइन नियमित रूपमा सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । परीक्षण तथा सञ्चालन अवधिमा सुरक्षाका लागि विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

उहाँका अनुसार प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तु नछुन, टावर वरपर नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका सङ्केत देखाइएका विद्युत् संरचनामा नछुन तथा बालबालिकालाई समेत टावर नजिक जान नदिन आग्रह गरिएको छ । परीक्षणका क्रममा कुनै स्थानमा झिल्का देखिएमा वा जोखिमपूर्ण अवस्था उत्पन्न भएमा तुरुन्तै नेपाल विद्युत् प्राधिकरण वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।

Facebook Comments Box