कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि सुरु हुने

गण्डकी, १४ माघ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम आइतबारदेखि सुरु हुने भएको छ । जिल्लामा खटाइने दुई हजार ३०३ जना निर्वाचन प्रहरीको छनोट भइसकेको र आइतबार नियुक्ति दिएर तालिममा सहभागी गराइने सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समितिका सदस्यसचिव चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कास्कीमा वैकल्पिक सूचीमा रहेका निर्वाचन प्रहरीलाई स्याङ्जा जिल्लामा खटाउने तयारी भइरहेको छ । सुरुमा दरखास्त कम परेपछि दुई पटकसम्म म्याद थप गरेर निर्वाचन प्रहरीको छनोट प्रक्रिया पूरा गरिएको हो ।निर्वाचन प्रहरीमा नियुक्ति तथा तालिमका लागि जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गणमा सम्पर्क गर्न सम्बन्धित उम्मेदवारहरूलाई सूचित गरिएको छ ।

निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्व वनरक्षक, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्ति तथा विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइएको समितिले जनाएको छ ।

अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न जान्ने व्यक्ति निर्वाचन प्रहरीका लागि योग्य हुने व्यवस्था छ । छनोटमा परेका निर्वाचन प्रहरीलाई १० दिनको तालिम दिइने सदस्यसचिव बरालले बताउनुभयो । निर्वाचन प्रहरीको कार्यअवधि ४० दिन तोकिएको छ । सो अवधिका लागि निर्वाचन प्रहरीले रु ३४ हजार ७७६ पारिश्रमिक, खाद्यान्न तथा पोसाक खर्च, तयारी खर्चबापत रु ८४६ र चार दिनको खाजा खर्चबापत रु एक हजार २०० प्राप्त गर्नेछन् ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले निर्वाचन प्रहरी नियुक्त गर्ने व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन प्रहरीबाहेक तीनवटै सुरक्षा निकायका झन्डै दुई हजार सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ । कास्कीमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

Facebook Comments Box