एनपिएल : आज लुम्बिनी–सुदूरपश्चिम र जनकपुर–पोखरा भिडने
काठमाडौँ, ११ मङ्सिर – राजधानीमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई रोमाञ्चक खेल हुँदैछन्। त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल बिहान ११ः४५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। दोस्रो खेल अपराह्न ४ः०० बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच हुने तय छ।
रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनीले आज सुदूरपश्चिमलाई हराउँदै लिगमा सुधार गर्ने लक्ष्य लिएको छ। तीन खेलमध्ये एउटा मात्र जित निकालेको लुम्बिनी हाल अङ्क तालिकाको छैटौँ स्थानमा छ। दीपेन्द्रसिंह ऐरी नेतृत्वमा रहेको सुदूरपश्चिम भने लगातार तीन जितसहित शीर्ष स्थानमा उक्लिएको छ र ६ अङ्कमै मजबूत स्थिति बनाएको छ।
अनिल शाहको कप्तानीमा रहेको साविक विजेता जनकपुर बोल्ट्स र कुशल भुर्तेल नेतृत्वको पोखरा एभेन्जर्स दुवै टोलीले पहिलो जितको खोजीमा मैदान उत्रनेछन्। यी दुई टोली अहिलेसम्म खेलेका दुवै खेलमा पराजित भएका छन्।

