आइतबार बिहान गएको पहिरोमा परेर बेपत्ता थप एक जनाको शव फेला
रामेछापको , १२ भदौ -रामेछापको दोरम्बा शैलुङ गाउँपालिका- ३ लेखर्कमा गएको आइतबार बिहान गएको पहिरोमा परेर बेपत्ता थप एक जनाको शव फेला परेको छ। पहिरोमा बेपत्ता तीन जनामध्ये बुधबार बिहान एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। योसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या आठ पुगेको छ।
नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्ने क्रममा पहिरोले पुरेको अवस्थामा २३ वर्षीया बिन्दा पहरीको शव फेला परेको हो। पहिराेमा परेर मृत्यु भएकाे अवस्थामा ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ, ५७ वर्षीया उर्मीला पहरी, ३० वर्षीय सञ्जिव पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षकै विज्ञान पहरीको शव सोही दिन भेटिएको थियो। पहिरोमा अझै दुई जना बेपत्ता छन्। पहिरोको कारण लेखर्कका ५९ परिवार बिस्थापित भएका प्रहरीले जनाएकाे छ।

