निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा स्वदेशी सामग्री प्रयोग गर्ने आयोगको नीति
काठमाडौँ, १५ माघ – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी र व्यवस्थित बनाउन तथा स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोगले स्थानीय रूपमा उत्पादन भएका सामग्रीको प्रयोगलाई प्राथमिकता दिएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनका लागि कुल ५१ प्रकारका सामग्री प्रयोग हुनेछन् । तीमध्ये ३७ प्रकारका सामग्री प्रदेश तथा जिल्लास्तरबाट विकेन्द्रीकृत रूपमा खरिद गरी प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद गरिनेछ । तीमध्ये अधिकांश सामग्री ‘जिटुजी’ (सरकार–सरकारबीच) अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीमार्फत खरिद गरिने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
निर्वाचनका लागि जम्मा रु छ करोड ७५ लाख बराबरको मात्र नयाँ सामग्री खरिद गरिएको र बाँकी आवश्यक सामग्री पुरानै मौज्दात (स्टक) पुनः प्रयोगमा ल्याइएको आयोगले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन, दाबी–विरोध तथा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रमसमेत सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

