राष्ट्रिय मर्यादाको अपमान गरेको आरोपमा कारबाहीको माग

काठमाडौँ, १४ माघ – नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक तथा राष्ट्रिय जनावरको अपमान हुने गरी अभिव्यक्ति दिएको आरोप लगाउँदै बाँके क्षेत्र नं ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारमाथि छानबिन गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ।

हिन्दू जागरण नेपालले आज आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै सुनारले समाज भड्काउने अभिव्यक्ति दिएको दाबी गरेको हो।

संगठनले राजनीतिक लाभका लागि राष्ट्रियतासँग जोडिएका संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सुनारको उम्मेदवारी खारेजीको समेत माग गरेको छ।

ज्ञापनपत्रमा सुनारका अभिव्यक्तिले आम नागरिकमा भ्रम फैलाउने, सामाजिक सद्भावमा नकारात्मक असर पार्ने तथा राष्ट्रको गरिमा कमजोर बनाउने काम गरेको उल्लेख गर्दै यसबारे गम्भीर छानबिन आवश्यक रहेको जनाइएको छ।

यस्ता गतिविधिले निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन प्रक्रिया अघि बढ्न नकारात्मक प्रभाव पार्ने भन्दै समयमै नियन्त्रण गर्नुपर्नेमा हिन्दू जागरण नेपालको जोड छ।

संगठनले प्रचलित कानुन र निर्वाचन आचारसंहिताअनुसार छानबिन गरी सुनारलाई कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेको छ।

Facebook Comments Box