हिमपातले किसान खुसी, जनजीवन भने कष्टकर
मनाङ, १४ माघ – हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएसँगै किसान खुसी भएका छन् भने जनजीवन प्रभावित बनेको छ। पुस र माघ महिनालाई हिमपातको मुख्य समय मानिने मनाङमा यसपटक मङ्सिर र पुसमा हिउँ नपरे पनि माघमा बाक्लो हिमपात भएको हो।
हिमपातपछि डाँडाकाँडा, खोला, नदी र तालहरू जमेका छन् भने जिल्लाका अधिकांश बस्ती सेताम्मे देखिएका छन्। यसअघि गत कात्तिक १० र ११ गते मात्रै हिमपात भएको थियो।
माथिल्लो मनाङका खाङसार, मनाङ गाउँ, टङ्की मनाङ, घ्यारु, ङावललगायत क्षेत्र अहिले हिउँले ढाकिएको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका स्थानीय घ्याम्चो गुरुङले जानकारी दिनुभयो।
उहाँका अनुसार गाउँतिर करिब एक फिटभन्दा बढी हिउँ परेको छ। “हिउँ परेपछि किसान खुसी भएका छन्। यसले कृषि उत्पादन बढाउन मद्दत गर्छ,” उहाँले भन्नुभयो, “तर हिमपात हुँदा केही दिन जनजीवन भने कष्टकर हुन्छ।”
हिमपातका कारण स्थानीय बासिन्दा र पर्यटक दुवै प्रभावित भएका छन्। नियमित कामकाजका लागि घरबाहिर निस्कन कठिन भएको छ भने पर्यटकको आवागमन पनि प्रभावित भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार हाल पनि हिमपात जारी छ। उहाँले चक्रिय अन्नपूर्ण पदमार्गअन्तर्गतका पर्यटकीय गन्तव्यतर्फ जान पर्यटकहरू रोकिएको जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले माथिल्लो मनाङ (मनाङ ङिस्याङ गाउँपालिका) क्षेत्रमा गएरातिदेखि निरन्तर हिमपात भइरहेको बताउनुभयो। सदरमुकाम चामेमा भने हिमपात रोकिएर पानी परिरहेको उहाँको भनाइ छ।
“तल्लो मनाङ (नासों गाउँपालिका) का अधिकांश स्थानमा पानी परिरहेको छ,” उहाँले भन्नुभयो, “नार्पाभूमितिर गोठालाबाहेक अरू मानिस नभएको सूचना छ, तर मौसम बदली र सञ्चारको पहुँच कमजोर भएकाले सम्पर्क हुन सकेको छैन।”
प्रजिअ पौड्यालका अनुसार माथिल्लो मनाङका केही स्थानमा दुई फिटसम्म हिउँ जमेको छ। यतिबेला परेको हिमपात लामो समयसम्म टिक्ने र सिँचाइका लागि उपयोगी हुने भएकाले किसानहरू भने सन्तुष्ट देखिएका छन्।

