मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६० प्रतिशत चिकित्सक अनुत्तीर्ण

काठमाडौँ, १४ माघ – नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन्। काउन्सिलद्वारा सञ्चालित एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा कुल ३९.४५ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले जानकारी दिनुभयो।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा केन्द्रमा मंगलबार र बुधबार कम्प्युटर प्रणालीमार्फत परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा सहभागी ९४३ जनामध्ये ३७२ जना मात्रै उत्तीर्ण भएका छन्।

लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएस दुवै तर्फ गरी ९६७ जनाले आवेदन दिएका थिए। तीमध्ये २४ जना परीक्षामा अनुपस्थित रहेको काउन्सिलले जनाएको छ।

एमबीबीएसतर्फ ७९३ जनाले फाराम भरेका थिए भने ७७५ जना परीक्षामा सहभागी भएका थिए। तीमध्ये ३०० जना अर्थात् ३८.७ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्।

त्यस्तै, बीडीएसतर्फ १७४ जनाले आवेदन दिए पनि १६८ जना परीक्षामा सहभागी भएका थिए। उनीहरूमध्ये ७२ जना अर्थात् ४२.८५ प्रतिशत परीक्षामा सफल भएका छन्।

लाइसेन्स परीक्षाको यस्तो नतिजाले चिकित्साशास्त्र अध्यापन गराउने विश्वविद्यालय तथा मेडिकल कलेजहरूको शैक्षिक गुणस्तरमाथि प्रश्न उठेको छ। यद्यपि रजिष्ट्रार डा. देवले यसपटक अनुत्तीर्ण हुनेमध्ये धेरैजसो अघिल्ला लाइसेन्स परीक्षामै असफल भइसकेकाहरू रहेको दाबी गर्नुभयो।

Facebook Comments Box