हिउँदे वर्षाले किसान उत्साहित

काठमाडौँ, १४ माघ – लामो समयदेखिको खडेरीपछि मुलुकका विभिन्न भागमा परेको हिउँदे वर्षाले किसानहरू उत्साहित भएका छन्। गएरातिदेखि देशका अधिकांश क्षेत्रमा छिटपुटदेखि मध्यम वर्षा भएपछि लगाइएका बाली सप्रिने र नयाँ बालीका लागि माटो मलिलो हुने अपेक्षा गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् ढकालका अनुसार न्यूनचापीय प्रणालीका कारण पश्चिमबाट प्रवेश गरेको मनसुन सक्रिय हुँदा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भएको हो। सोही प्रणालीको प्रभावले हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतको खानीखोला जलमापन केन्द्रमा सबैभन्दा बढी ४३ मिलिमिटर वर्षा मापन गरिएको छ। कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मध्यम वर्षा भएको छ भने गण्डकीको तल्लो क्षेत्रमा हल्का वर्षा मात्रै भएको जनाइएको छ।

हाल उक्त प्रणाली बागमती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यका आसपास केन्द्रित रहेको र क्रमशः कमजोर हुँदै उत्तर–पूर्वतर्फ सर्दै गइरहेको मौसमविद्हरूले बताएका छन्। कोशी प्रदेशमा सामान्य प्रभाव पर्ने तथा उत्तरी भेगमा हल्का हिमपात हुने अनुमान गरिएको छ।

कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार हाल परेको हिउँदे वर्षा हिउँदे बालीका लागि ‘अमृत’ सरह रहेको छ। असिनाबिनाको पानीले तोरीको दाना राम्रोसँग भरिने र गहुँ उत्पादन बढ्ने उहाँको भनाइ छ।

उहाँले हिउँदे वर्षापछि फलफूल तथा बोटबिरुवामा नयाँ पालुवा पलाउने र त्यसले आगामी वर्ष उत्पादन वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो। साथै, हिमाली क्षेत्रमा भएको हिमपातले स्याउलगायत खाद्य तथा नगदेबालीको उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box