एनपीएलमा सुदूरपश्चिमको विजयी सुरुआत, काठमाडौं २९ रनले पराजित
काठमाडौँ, ३ मंसिर – बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ।
पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा आएको काठमाडौंलाई दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिमले २९ रनले पराजित गर्यो। टोलीका लागि हर्मित सिंहले प्रभावशाली अलराउन्ड खेल प्रस्तुत गरे।
सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य पछ्याउँदै आएको काठमाडौं १६.५ ओभरमा सबै विकेट गुमाउँदै ११८ रनमै समेटियो। काठमाडौंका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए।
त्यसैगरी जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जोडे। बाँकी खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्। सुदूरपश्चिमका लागि बलिङतर्फ स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले समान २–२ विकेट हात पारे। त्यस्तै इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले एक–एक विकेट प्राप्त गरे।

