गुल्मीमा चुँदारा समुदायको परम्परागत पेसा सङ्कटमा

गुल्मी, १४ माघ – पछिल्लो समय गुल्मी जिल्लामा काठका भाँडा निर्माण गर्दै आएको चुँदारा समुदायको परम्परागत पेसा सङ्कटमा पर्दै जान थालेको छ । परम्परागत रूपमा काठबाट कुँदिएका भाँडाकुँडा निर्माण गरी बिक्री गर्दै जीविकोपार्जन गर्दै आएका चुँदारा समुदाय आधुनिक प्रविधिको विस्तारसँगै बजारमा आएका प्लास्टिकका भाँडाका कारण प्रभावित भएका छन् ।

मालिका गाउँपालिका–७, घमिरका नरबहादुर कार्कीका अनुसार आकर्षक देखिने, सुपथ मूल्यमा उपलब्ध आधुनिक प्रविधिबाट निर्मित भाँडाहरू बजारमा छ्यापछ्याप्ती पाइने भएपछि चुँदारा समुदायको पुख्र्यौली पेसा धरापमा परेको हो । ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिने ठेका, आरीजस्ता भाँडाहरू दही र मही राख्न प्रयोग गरिँदै आएको छ । काठका भाँडामा राखिएको दही र मही चाँडो नबिग्रिने र स्वादिलो हुने भएकाले स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ ।

मुसिकोट नगरपालिका–२ का ज्ञानबहादुर नेपालीका अनुसार पछिल्लो समय गाउँघरमा काठबाट निर्मित सामग्रीहरू क्रमशः लोप हुँदै गएका छन् । नयाँ पुस्ता रोजगारीको खोजीमा सहर तथा विदेश पलायन हुनु र पुराना पुस्ता उमेरसँगै घट्दै जानुले परम्परागत पेसा संकटमा परेको उहाँको भनाइ छ । चुँदारा समुदायका अनुसार परम्परागत पेसा र सामग्री संरक्षणका लागि स्थानीय पालिकाहरूले नीति, कार्यक्रम तथा बजेटमा पर्याप्त प्राथमिकता नदिएको गुनासो रहेको छ ।

गुल्मी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष जनक पन्तका अनुसार प्लास्टिकबाट निर्मित भाँडाहरू सस्तो, आकर्षक र सजिलै उपलब्ध हुने भएकाले उपभोक्ताको रोजाइ त्यतातर्फ गएको छ । यसले परम्परागत काठका सामग्रीको बजार संकुचित हुँदै गएको उहाँले बताउनुभयो । यस्ता सामग्रीको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि स्थानीय तहले विशेष कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

परम्परागत शैलीमा काठका भाँडा निर्माण गर्न समय बढी लाग्ने र खर्चिलो हुने भएकाले व्यवसायीहरूलाई गुजारा चलाउन समेत कठिन भएको छ । छत्रकोट गाउँपालिका–१, हुँगाका यमन सुनारका अनुसार आफूले निर्माण गरेका सामग्री बिक्रीका लागि गाउँगाउँ डुल्दा पनि कहिलेकाहीँ बिक्री नभई रित्तो हात फर्कनु पर्ने अवस्था छ ।

हाल गिठीको काठबाट निर्माण गरिएका ठेकाको मूल्य आकारअनुसार रु ७०० देखि रु सात हजारसम्म पर्ने गर्दछ । यस्ता सामग्रीहरू जिल्लामा आयोजना हुने मेला–महोत्सव, सहकारी पसल तथा कोसेली घरहरूमा फाट्टाफुट्ट रूपमा बिक्रीका लागि राखिने गरिएको छ ।

Facebook Comments Box