सबै पालिका र जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता लागू गर्न मन्त्रालयद्वारा निर्देशन

काठमाडौँ, १२ माघ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ वटै पालिका र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता २०८२ लागू गराउन पत्राचार गरेको छ।

निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित पालिका र जिल्ला समन्वय समितिले पनि आ–आफ्नो क्षेत्रमा कार्यान्वयन गर्नुपर्ने भन्दै मन्त्रालयले पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलले जानकारी दिनुभयो।

उक्त आचारसंहिता हिजो सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागू गरिएको हो। मन्त्रालयले आवश्यक जानकारी तथा कार्यार्थ भन्दै सबै पालिका र जिल्ला समन्वय समितिलाई ध्यानाकर्षण गराएको जनाएको छ।

Facebook Comments Box